प्रतिशोधपूर्ण रुपमा पक्राउ गरियो : पूर्वप्रधानमन्त्री ओली

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछी ओलीले आफूलाई प्रतिशोधपूर्ण पक्राउ गरिएको बताएका हुन् ।

आफूलाई पक्राउ पुर्जी लिएर प्रहरी आएपछि उनले वकिलहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले यस्तो बताएका हुन् । ‘यो पक्राउ प्रतिशोधपूर्ण छ । यसको कानुनी लडाईं लड्छु तपाईंहरू तयारी गर्नुहोस्’ ओलीले वकिलहरूसँग भनेका थिए । उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका थिए ।

यता गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको बताएका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत उनले यसबारे प्रतिक्रिया दिएका हुन्।

‘वाचा वाचा नै हो। कानुनभन्दा माथि कोही छैन,’ गुरुङले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।’

उनले अब देशले नयाँ दिशा लिने समेत विश्वास व्यक्त गरेका छन्। गुरुङले लेखेका छन्, ‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्