दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड
काठमाडौं । नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मा पाएका छन् ।
फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट निर्वाचित बनेका उनको यो मन्त्रीका रुपमा दोस्रो जिम्मेवारी हो । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७९ माघ ३ गते पहिलो पटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका उनी १९ दिन मात्रै मन्त्री बनेका थिए ।
सो समय नागरिकता मुद्दामा रास्वपाका सभापति तथा तत्कालीन उपप्रधानमन्त्री रवि लामिछानेको पद गुमेसँगै रास्वपा सरकारबाट बाहिरिएको थियो । माघ २२ गते उनीहरु सरकारबाट बाहिरिदै गर्दा खनालले मन्त्री पद सम्हालेको १९ दिन मात्रै भएको थियो ।
खनालले अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । यस्तै, बज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।