मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री
काठमाडौँ । वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन् । उनी सुर्खेत वीरेन्द्रनगर नगरपालिका—११, झुप्रा खोलाकी बासिन्दा हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ दलित कोटाबाट उनलाई सांसद बनाएको हो ।
बालेन शाहको नेतृत्वमा बनेको मन्त्रिपरिषदमा उनले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । प्रधानमन्त्री बालेनले प्रधानमन्त्रीको शपथ लिएलगत्तै उनले पनि शुक्रबार मन्त्रीको शपथ लिएकी छिन् । यस मन्त्रीपरिषदमा सीतासहित ५ जना महिलामन्त्री बनेका छन् ।
उनको परिवार झुप्राखोला किनारमा बालुवा जम्मा पारेर बेचेर गुजारा गर्थ्यो । उनको बाल्यकाल पनि बालुवा चालेरै बित्यो । हुर्कदै जाँदा उनले आफ्नो समुदायमाथिको विभेद बुझ्दै गइन् ।
सीताका आमाबुवा सरकारी स्कुल पनि पढाउन सक्ने अवस्थामा थिएनन् । “वादी समुदायका खान र बस्नसमेत नपाएको अवस्था छ । वादी समुदायका छोरीहरुको अवस्था अन्धकारमय छ,” उनले भनिन् ।
आफ्नो बाल्यकाल आर्थिक अभाव र सामाजिक अपहेलनाले भरिएको बताउँदै उनले पढ्नका लागि कलम–कापी नपाउँदाको पीडा सम्झिइन् । करिब १५ वर्ष अगाडी उनी एक गैरसरकारी संस्थाको सहयोगमा घरपरिवार छाडेर काठमाडौं पढ्न आइन् ।
१० कक्षा पास गरेपछि उनले उक्त संस्थामै काम सुरु गरिन् । स्नातक सकेपछि उनी संस्थाबाट बाहिरिइन् । र, स्वतन्त्र रुपले अन्य काममा लागिन् । उक्त संस्थाप्रति उनी सधै कृतज्ञ छिन् ।
एक संस्थाको सहयोगमा उनी काठमाडौंमा एक छात्रावासमा बसेर अध्ययन गर्दै आएकी थिइन् । सामाजिक अभियन्ताका रुपमा महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी उनले राजनीतिशास्त्रमा स्नाताकोत्तर गरेकी छिन् ।
दलितभित्रको पनि दलित र अति विपन्न वादी समुदाय भूमि अधिकारबाट पनि वञ्चित छन् । यस समुदायले आफ्नो अधिकार र आत्मसम्मानका लागि पश्चिम नेपालबाट काठमाडौँसम्म आएर महिलाहरूले २०६४ सालमा प्रदर्शनसमेत गरेका थिए ।
वादी महिला यौन पेशामा छन् भन्ने आम समुदायमा रहेको धारणाले उनलाई बिझायो । यस समुदायको आफ्नै अस्तित्व, भाषा, कला रहेको छ भन्ने कुराको प्रचार नभएको उनको बुझाइ छ ।
उनका धेरै सपना छन् । त्यसमध्ये आत्मसम्मानपूर्वक जिउन पाउनु पर्ने हो । गैरसरकारी संस्थाहरूले सहयोग गरेपनि वादी समुदायको बारेमा गतल धारणा स्थापित गरिदिएकोमा उनलाई दुःख लाग्छ । वादी भएकै कारणले धेरैपटक अवहेलना, बेइज्जती र हिंसाको सामना गर्नुपरेको अनुभव उनीसँग छ ।
बुढानीलकण्ठस्थित चुनिखेलमा उनको हस्तकला व्यवसाय छ । ‘वादी सस्टेन मल्टिपर्पोज’ नामक हस्तकला व्यवसायबाट हुने नाफाबाट उनले आफ्नै समुदायका केही बालबालिकालाई पढाउँदै आएकी छिन् ।
महिला सशक्तिकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आएकी नवनियुक्त वादीले आफ्नो समुदायका महिलाको स्थिति झनै नाजुक रहेको बताइन् । संस्थामार्फत सिलाइकटाइ प्रशिक्षण दिएर महिलालाई आर्थिक स्वावलम्बी बनाउने काम गर्दै आएकी स्थिति सुधार गर्ने खालको परिणाममुखी काम गर्ने बताइन् ।
उनका अनुसार राजनीतिको यात्रा सजिलो छैन । तर, यो अवसरलाई उनले भरपुर सकारात्मक कार्यमा लगानी गर्ने बताइन् । समाजमा विद्यमान असमानता, विभेद र अपमानको जालो हटाएर समानतापूर्ण समाज निर्माण गर्नुपर्ने उनको धारणा छ । आधा आकाश ढाक्ने महिलाको परिस्थितिलाई अझै बलियो बनाउने र सीमान्तकृत समुदायका महिलाको विकासमा जोड दिने उनको योजना छ ।