प्रचण्ड, गगन र रवि निर्वाचन क्षेत्रमा पुगे, बालेन चढेको हेलिकप्टर काठमाडौँ फर्कियो
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनको मतदान जारी छ। विहान ७ बजेदेखि मतदान भइरहेको छ। उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
अहिलेसम्म उम्मेदवार रहेका अधिकांसले मत खसालेका छन्।
यसैबीच, केही उम्मेदवारहरू मतदाता नामावली रहेको ठाउँमा मतदान गरेर उम्मेदवारी दिएको निर्वाचन क्षेत्र पुगेका छन भने कतिपय जाने क्रममै छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मत खसालेर रुकुम पूर्व पुगिसकेका छन्। उनी हेलिकप्टरमार्फत आफू उम्मेदवार रहेको क्षेत्र पुगेका हुन्।
यसैगरी,नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौँ ४ को मैतिदेवी मतदान केन्द्रमा मत खसालेर सर्लाही ४ पुगेका छन्।
उनको सचिवालयका अनुसार थापा हेलिकप्टरबाट सर्लाही ४ पुगेका हुन्। उनी मतदानको अवधिभर निर्वाक्षन क्षेत्र पुग्नेछन्।
यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर केन्द्रमा मतदान गरेर स्थलमार्ग हुँदै चितवन पुगेका छन्।
उनी क्षेत्र चितवन–२ का उम्मेदवार हुन्। रवि आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम बनाएका छन्।
उता, रास्वपाकै वरिष्ठ नेता बालेन्द्र शाहले विहानै सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मत खसालेर हेलिकप्टरमार्फत झापा हान्निएका थिए।
तर, खराब मौसमका कारण बालेन चढेको हेलिकप्टर झापामा अवतरण गर्न नसकेपछि काठमाडौँमै फर्किएको कोसी प्रदेशका प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले जानकारी दिए।
‘खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकि काठमाडौँ फर्किएको छ,’ उनले नेपालखबरसँग भने।
५७ नटिकल माइल पूर्व पुगेको शाह चढेको ९एनएओबी कलसाइनको हेलिकप्टर पुन: काठमाडौं आएको विमानस्थल कार्यालयले जनाएको छ।